काठमाडौं । सुदूरपश्चिम प्रधानमन्त्री कप महिला टी–२० को फाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि ११४ रनको प्रभावशाली जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।इटहरीको जनता मावि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रनको विशाल योगफल खडा गरेको थियो । प्रतियोगितामा अहिलेसम्म कुनै पनि टिमले बनाएको यो सबैभन्दा ठूलो योगफल हो ।
सुदूरपश्चिमका ओपनरद्वय कप्तान विन्दू रावल र कविता कुँवरले १२८ रनको साझेदारी गरेका थिए । यो प्रतियोगिताकै सर्वाधिक ओपनिङ साझेदारी हो । ५४ बलमा १२ चौका र १ छक्कासहित ७० रन बनाएर कविता आउट भएपछि आएकी कविता जोशीसँग मिलेर कप्तान विन्दूले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरिन् ।
जवाफमा मधेशले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । उसका लागि एलिशा यादव (१४ रन), सीमा कुँवर (१६ रन) र प्रतिमा साह (१९ रन)बाहेक अन्यले दोेहोरो अंकको स्कोर गर्न सकेनन् । मधेशका दुई ब्याटर खाता नखोली, दुईजना २ रनमा आउट भएका थिए भने ३ जनाले एकभन्दा बढी रन स्कोर गर्न सकेनन् ।
मधेशलाई सस्तैमा रोक्न सुदूरपश्चिमका मनिषा चौधरी र ऋतु कनोजियाले २–२ विकेट लिए । कविता कुँवर र स्नेहा महराले १–१ विकेट लिए ।प्रतियोगिताको देस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ र घरेलु टोली प्रदेश १ बीच शुक्रबारै प्रतिस्पर्धा भइरहेको छ । सुदूरपश्चिमले यो खेलको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ ।