काठमाडौं । देशले नयाँ राष्ट्रपति पाउने प्रक्रिया केही महिनामै सुरु हुदैछ । तर, सत्तारुढ दलहरुभित्रै राष्ट्रपतिका सवालमा एकमत देखिदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थोरै लचक छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सत्तारुढ दलभित्रबाटै राष्ट्रपति बनाउने पक्षमा कडा रुपमा प्रस्तुत हुदै आइरहेका छन् । चुनावी गठबन्धन भत्काएर सरकार बनाउन सघाएको एमालेले राष्ट्रपति आँफुले पाउने अडान छाडेको छैन ।
विश्वासको मत लिदा विपक्षी गठबन्धनका दलहरुको समेत साथ पाएका प्रधानमन्त्री प्रचण्ड सकेसम्म राष्ट्रपति विपक्षी गठबन्धनलाई दिने वातावरण खोजिरहेका छन् । तर, उनले यसबारे मुख खोलिसकेका छैनन् । सभामुख निर्वाचनपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले समझदारीमा राष्ट्रपति चयनको कोसिस गर्ने बताएका छन् । उनले सभामुख जस्तै उपसभामुख चयनमा पनि सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिने बताए ।
“राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ”, उनले भने, “सत्ता साझेदार दलहरु र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोशिष छ । हामी त्यो कोशिष जारी राख्छौं ।” प्रचण्डले लचकता देखाउँदा सत्ता साझेदार दल एमाले अध्यक्ष ओली भने एमालेबाटै राष्ट्रपति पदमा उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् ।
उनले एमालेले उठाएको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्छन् । “राष्टिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । त्यसमा राष्टिय सहमति हुनुपर्छ”, उनले भने । कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन दौडधुप जारी राखेको छ । तर, सत्तारुढ दलहरु विपक्षी गठबन्धनलाई राष्ट्रपति पद दिन इन्कार गर्दै आइरहेका छन् ।