दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको प्राप्त गरेका छन् । बिहीबारको पहिलो प्रदेशसभा अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस र जनमोर्चाले गिरीलाई विश्वासको मत दिएनन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।
यसअघि मुख्यमन्त्री नियुक्ति हुँदा समर्थन नगरेको एकीकृत समाजवादीले पनि गिरीलाई विश्वासको मत दिएको छ । सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएकी छन् ।योसँगै प्रदेश सरकारलाई ८ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र सांसदको समर्थन पुगेको छ ।