काठमाडौं । अर्थ मन्त्रालयले खर्च कटौती नीति अपनाउने भएको छ । मातहतका सबै महाशाखालाई खर्च कटौती गर्न निर्देशन मन्त्रालयले दिएको हो । कार्यालयमा बोतलको पानी समेत निरुत्साहित गर्ने भएको छ । यस्तै अनावश्यक रूपमा हिटर, पंखा पनि नचलाउने भएको छ । बजेट निर्माणमा अतिरिक्त खटेका कर्मचारीको भत्ता पनि घटाइएको छ ।
यस्तै अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने, दुईपांग्रे र चार पांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्न मन्त्रालयको निर्देशन छ ।
चालु आर्थिक वर्ष (आव) २०७९÷८० का लागि खर्च घटाउने सम्बन्धी मापदण्ड बनाएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने उल्लेख छ । सोही बुँदालाई कार्यान्वयन गर्ने क्रममा अर्थले यस्तो मापदण्ड बनाएको बताएको छ ।
सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा पनि चालू खर्च कटौती गर्ने लक्ष्य लिइएको थियो । सबै मन्त्रालयलाई खर्च कटौती गर्न पनि आह्वान गरिसकेको छ । अर्थले खर्च कटौती गर्न मापदण्ड तयार गरी उक्त निर्देशन दिएको हो ।अहिले सरकारी राजस्वले चालू खर्च धान्नै मुस्किल रहेका बेला अर्थले चालू खर्च कम गर्न विधि अपनाएको हो ।