भरतपुर । कांग्रेस सभापति शेरबहादुर देउवासँग मंसिर ४ को चुनावी मैदानमा उत्रिएका युवा सागर ढकालले संसदको निरन्तर खबरदारी गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा साढे ७ मिनेट भिडियो पोष्ट गर्दै उनले संसदमा प्रतिपक्षनै नरहेको अवस्थामा आँफु प्रतिपक्ष बनेर खबरदारी गर्ने व्यंग्य गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई दुई साना दलबाहेक सबै दलले विश्वासको मत दिएपछि संसद प्रतिपक्षविहिन जस्तो बनेको टिप्पणी भैरहेका छन् । उनले भनेका छन्, “संसद प्रतिपक्ष विहिनजस्तै छ, म यसै गरी संसद भवनलाई पछाडी राखेर प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछु ।”
पाँच वर्षअघि बीबीसीको साझा सवालमा देउवालाई प्रश्न सोधेर चर्चामा आएका ढकाल स्वतन्त्र उम्मेदवारका बनेर तत्कालिन प्रधानमन्त्री देउवासँग चुनाव लडेका थिए । उनले सुई चुनाव चिन्ह पाएका थिए । गुल्मी घर भएका उनी डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । तर, उनी देउवासँग पराजित भए । सामाजिक सञ्जालमा उनले मन्त्रीपरिषद् विस्तारबारे कडा व्यंग्य गरेका छन् । “नेपाल भनेको प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु बनाउने फ्याक्ट्रिनै बनाउने टपलिष्टनै बन्यो”, उनले भने, “अन्य मुलुकहरु हेरौँ, प्रधानमन्त्रीहरु तपस्वीहरु छन्, तर नेपालमा तपस्वी को छ ?”
उनले मोदी जस्तो राजकाज गर्न सक्ने को व्यक्ति छ भनेर प्रश्न गरेका छन् । यो सरकारप्रति अलिअलि आशा छ, तर पूर्णआशावादी छैन”, उनले भनेका छन्, “गिलासमा ९० प्रतिशत कुहिएको पानी छ, १० थोपा राम्रो पानी राखेर शुद्ध पानी हुदैन, यो झाडापखलानै लगाउने सरकार हो ।” उनले अबको २० वर्षमा देश हाँक्ने, विकास गर्न विज्ञता र इमान्दारिताको खाँचो देखिएको जीकिर गरेका छन् ।
उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उर्जा मन्त्रालय लिएकोमा असन्तुष्टी समेत पोखेका छन् । विद्युतको युनिट कसरी कहाँबाट आउँछ भन्ने सामान्य ज्ञान समेत नरहेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री पद लिएकोमा शंकाको सुविधा सहित हेरेको बताएका छन् । लामिछानेले पत्रकारिता गर्दा गृहमन्त्रालयका गतिविधि नियालेकाले उनीबाट केही राम्रा काम हुने आशा लिएको जीकिर गरेका छन् ।
उनले माओवादी, एमाले, कांग्रेससँग कुनै आशै नरहेको बताए । चीन, भारत, बंगलादेश, भुटान जस्ता देशले गरेका विकासका लहर नेपालमा पनि आउनुपर्ने तर्क गरेका छन् । “यो खिचडीको सरकार छ, कच्याककुचुक्कको सरकार छ, धेरै टिक्दा पनि टिक्दैन”, उनले भिडियोमा बोलेका छन्, ࡒ“अब नेपालमा तपस्वी जस्ता नेताहरु चाहिन्छ, हामीले ल्याएको मुभमेण्टबाट हजारौँ सागरहरु जन्मिनेछन्, युवाहरु संसद भवन छिर्नेछन् ।” लामो दुरीको राजनीति गर्न खोज्ने युवाहरु संसद भवन छिर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले सत्ता पाउने वित्तिकै चप्पलै छोडेर दर्गुर्ने नेताहरुबाट सचेत हुनुपर्ने बताएका छन् ।