काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कांग्रेसको लक्ष्य शीतल निवासतर्फ रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेका छन्, “सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ ।” उनले कांग्रेस संसदको सबैभन्दा ठुलो दल भएपनि परिस्थितिका कारण सरकार बाहिर बस्नुपरेको तर्क सुनाएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास गरेको आरोप समेत लगाए । “हामीले ढोक्सा थापेका छैनौ, माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन”, उनले भने, “तर, माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा चैं नबनाउनका लागि मैले रोष्ट्रममा उभिएर अपिल गर्नै पर्ने हुन्छ ।” उनले उच्चस्तरिय राजनीतिक संयन्त्रबारे पनि प्रसंग निकाले ।
२०७४ सालमा संयन्त्र बनाउँदा संविधानले नचिन्ने भन्ने व्यक्ति अहिले संयन्त्रको संयोजक बन्नुले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको तर्क गरे । ओली संयन्त्रको संयोजक छन् । कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको उम्मेदवारी महिला सशक्तिकरणका लागि भएको बताएका छन् ।