काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदन दिएकामध्ये उत्कृष्ट पाँच जना छनोट भएका छन् । गत साता नेपाल क्रिकेट संघ (क्यान)को प्रशिक्षक छनोट समितिले सार्वजनिक सूचना जारी गरी प्रशिक्षक आवेदन खुला गरेको थियो ।
एक साताको समयमा २४ जनाको आवेदन परेकोमा उत्कृष्ट पाँच जनाको सर्टलिष्ट तयार गरी आजै (बुधबार) अन्तर्वार्ता लिन लागिएको हो ।अन्तवार्तापछि एकजनाको नाम समितिले क्यानसमक्ष सिफारिस गर्ने समितिका संयोजकसमेत रहेका क्यान कार्यसमिति सचिव प्रशान्त मल्लले जानकारी दिए ।
नेपाल टिमको प्रशिक्षक बन्न आवेदन दिएकामध्ये झण्डै एक दशकदेखि नेपाल क्रिकेटसँग जोडिएका भारतका मोन्टी देशाई, नेपाल टिमका पूर्व प्रशिक्षक डेभ ह्वाटमोर, पूर्व बलिङ सल्लाहकार श्रीलंकाली धम्मिका प्रसाद, बंंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनललाई छनोट गरिएको छ ।