विराटनगर । जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै कोशी अस्पतालका चिकित्सकमाथि आक्रमण भएको छ । डा. आकाश यादवलाई कुटपिट गरेका छन् । उनको टाउकोमा चोट लागेको छ । चिकित्सकलाई कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटनाबारे अनुसन्धान भैरहेको बताएका छन् । उनले उपचारमा लापरवाही भएको पाइए कारवाही गर्ने बताएका छन् ।
पुस १७ गते अस्पतालमै जन्मेकी छोरीको उपचार गर्न मोरङ जहदा–की भातिगञ्जकी उमा मुखिया आज (विहानै) कोशि अस्पताल पुगेकी थिइन् । १७ दिनको शिशुमा स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि ल्याइएको थियो । विहानै ८ बजे आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । मेडिकल अफिसर डा. आकाश यादवले चेकजाँचपछि ‘छोरीको सास छैन भर लैजानु’ भनिदिएका थिए ।
छोरीलाई आकस्मिक कक्षबाट बाहिर लैजाने क्रममा हातखुट्टा चलेपछि उपचारमा लापरवाही भएको सार्वजनिक भएको थियो । शिशुका बुबा दिलिप मुखियाले जिउदो छोरीलाई मृत भनिदिने डाक्टरलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । उनी एम्बुलेन्स चालक हुन् । उनले छोरीलाई कोशि अस्पताल नजिकै रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गराइरहेका छन् । एनआइसियुमा राखेर उपचार भैरहेको उनले बताए ।