काठ्माण्डौ । नेपालका प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले इसा अवार्ड पाउने भएका छन् । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले १० लाख अमेरिकी डलर (नेपाली १३ करोड रुपैयाँबराबर) को अवार्ड दिने घोषणा गरेको हो । बहराइनको सामाजिक संस्थाले अवार्ड दिन लागेको हो । डा. रुइतले सो अवार्ड आगामी फेब्रुअरीमा प्राप्त गर्नेछन् ।
उनी तिलगंगा अस्पतालका संस्थापक हुन् । नेपालको दुर्गम क्षेत्रमा जन्मिएका रुइतले भारतमा छात्रवृत्ति पाएर चिकित्सा शिक्षा हासिल गरेका थिए । ३० वर्षभन्दा बढी नेत्र विशेषज्ञका रुपमा काम गरिसकेका छन् । उनले उच्च गुणस्तरको इन्ट्राओकुलर लेन्सहरू निर्माण गर्ने केन्द्रहरू स्थापना गरेका थिए । उनले चीन, भारत, बंगलादेश, कम्बोडिया, उत्तर कोरियालगायत अन्य ठाउँमा आँखाशिविर सञ्चालन गरिसकेका छन् । डा. रुइतले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार, सन् २०१८ मा भारत सरकारले दिने पद्मश्री सम्मान, २०७५ मा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक प्राप्त गरेका थिए ।
१ सय ३९ जना व्यक्ति तथा संस्था अवार्डका लागि छनौटमा परेका थिए । डा. रुइतले नेपाल सहित अन्य देशका १ लाख ८० हजारभन्दा बढीको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेर ज्योति दिन सफल भएका थिए । यो अवार्ड बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको हो । सन् २०१३ देखि हरेक दुई वर्षमा अवार्ड दिदै आएको छ । उनले अवार्डसहित १० करोड अमेरिकी डलर, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।