भरतपुर । पोखरा विमान दुर्घटनापछि आन्तरिक उडानमा प्रभाव देखिएको छ । यसअघि अत्यधिक यात्रुको चाप हुने गरे पनि दुर्घटनापछि यात्रुको चाप केहि घटेको भरतपुर विमानस्थल कार्यालयले बताएको छ । भरतपुरदेखि काठमाडौं र भरतपुर पोखराका लागि बुद्ध र गुण एयरलाईन्सले दैनिक ८/१० उडान भर्ने गरेका छन् । तर अहिले भने उडान घटेको छ । विमानस्थलले मौषमका कारण उडान कम भएको बताएको छ । विमानस्थलका प्रमुख दिपक विकले अन्य कारण भने बताउन चाहेनन् ।गुण एयरलाईन्स भरतपुरका प्रमुख गुणराज शर्माले १५ प्रतिशत यात्रु घटेको बताएका छन् ।
पोखरामा भएको एति एयरलाईन्स दुर्घटनाका कारण यात्रुले हवाई यात्रा कम गरेको हुनसक्ने उनको अनुमान छ । यात्रुमा केहि डर देखिएको उनले बताए । यता, बुद्ध एयरलाईन्सले भरतपुरदेखि काडमाडौं दैनिक ६/ ७ पटक उडान भर्छ । पोखराका लागि एक पटक मात्रै उडान तालिका रहेको बुद्ध एयरलाईन्स भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले बताए ।
केहि दिनदेखि मौषम खराब भएकाले उडान ढिलो भए पनि नियमित उडान भईरहेको उनले जनाए । ‘अहिले मौषम खराव छ, केहि डिले होला, कहिलेकाही स्थगित गर्नुपर्ला’, उनले भने,’ यसअघि भन्दा अहिले सामान्य प्रभाव परेको छ’ । उडान सुरक्षित बनाउन कुनै सम्झौता नगरिने प्रमुख बस्नेतले बताए । २५ वर्षदेखिको आफ्नो एयरलाईन्सको यात्रामा यात्रुको विश्वास कायमै रहेको उनको दाबी छ ।
पोखरा विमान दुर्घटना अघि पौष २८ गते २६० यात्रुले उडान भरेका थिए ।पौषमा २९ मा ३२५, पौष ३० मा २६० यात्रु थिए ।सो समयमा दैनिक ८ उडान भएको विमानस्थलले जनाएको छ । दुर्घटनाको दिन माघ १ गते भने कुनै पनि उडान भएन । भोलीपल्ट माघ २ गते ५ वटा उडान भएकामा १९९ यात्रु थिए । ३ गते ६ उडान भएकोमा यात्रु संख्या घटेर १६८ यात्रु भए । यात्रु घटेसँगै हवाई भाडा दर समेत घटेको छ । गुण एयरलाईन्सको आजको टिकट दर दुई हजार पाँच सय छ । केहि यात्रुले त २२ सय देखि १९ सय मात्रै तिरेको बताएका छन् । यात्रु घटेसँगै राजस्वमा पनि गिरावट आएको छ ।