काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने भएको छ । आज (बुधबार) विहानै बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उम्मेदवारी दिने निर्णय गरेको छ । दिउसो २ बजे बस्ने संसदीय दलको बैठक बसेर उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ ।
कांग्रेसले अन्य दलहरुको निर्णय कुरेर सभामुखको उम्मेदवारी दिने पक्षमा छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अन्य दलहरुको निर्णयपछि सभामुखको टुंगो लगाइने जानकारी दिए । सभामुखको मनोनयन दर्ताको समय दिउसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको छ ।
कांग्रेसले अरु दलबाट उपसभामुख हुने आशमा देखिएको छ । अन्य दलको समर्थन जुटाएर जसरी पनि सभामुख पद लिने दाउमा छ ।बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ । कांग्रेसको पदाधिकारी बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।