भरतपुर । माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले उपप्रधान एवम् भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई माडीको कष्टकर यात्राबारे दुखेसो पोखेकी छन् । भरतपुर महानगरमा आयोजित भेटघाट कार्यक्रमा मेयर महतोले भनिन्, “धुलाम्मे बाटोमा कहिलेसम्म हिड्ने उपप्रधानमन्त्री ज्यू ?”
उनले माडी जादा आउँदा सर्वसाधरणले एक सेट कपडा व्यागमा बोकेर हिड्नुपर्ने अवस्था अन्त्य गर्न माग गरिन् । “निकुञ्जभित्रको धुलाम्मे बाटो छ, माडी जादा या भरतपुर आउँदा धुलोले मान्छे चिन्नै सकिदैन”, उनले भनिन्, “फेर्ने एक सेट लुगा व्यागमै बोकेर हिड्नुपर्छ, कसरी हुन्छ त्यो बाटो पीच हुनप¥यो ।”
चितवन राष्ट्रिय निकुञ्जभित्रको करिब १० किमि धुलाम्मे सडक पार गरेर माडी पुग्नुपर्छ । मेयर महतोले निकुञ्जबाट निस्कने जनावरबाट माडी वर्षेनी पीडामा रहेको दुखेसो पनि पोखिन् । “वर्षेनी ३–४ जनाले ज्यान गुमाउनुपरेको छ, लगाएको उब्जनी जनावरले सखाप पारिदिन्छन्”, उनले भनिन्, “माडी नगरको पीडा हटाउन आवश्यक बजेट निकासा हुनुप¥यो ।”
उनले वन्यजन्तुलाई मानववस्तीमा जानबाट रोक्नका लागि रिउ कोरिडोरको दीर्घकालिन महत्वको योजना ल्याउन आग्रह गरिन् । माडीका सबै वडालाई समेट्ने गरी माडी रिंगरोडको नक्सांकन भएपनि बजेट अभाव भएको बताइन् । माडी–बगई बाटो तथा पुल निर्माणमा भएका ढिलाईबारे उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।
उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र
समृद्धिका लागि युवा अभियान माडीले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएक छन् । ज्ञापनपत्रमा चितवन राष्ट्रिय निकुञ्जको बाटो र रिउ करिडोर निर्माण गर्न सार्थक पहल गर्न अनुरोध गरिएको छ । अभियान्ताहरु रामबन्धु पोखरेल, विपिन पाठक, रामचन्द्र लम्सालले ज्ञापनपत्र बुझाएका हुन् ।