भरतपुर । भरतपुर महानगरका मेयर रेनु दाहालले उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई महानगरीय रिंगरोड पुरा गर्न ध्यानाकर्षण गराएकी छन् । महानगरमा आयोजित भेटघाट कार्यक्रममा मेयर दाहालले रिंगरोड नालीबेली आकारको भएके भन्दै परिमार्जन गरि छिटै पूर्णता दिन आवश्यक बजेट निकासा गर्न अनुरोध गरेकी छन् । “८८ किमि सडकमध्ये ४० किमि निर्माणाधिन छ, आधा काम अझै बाँकी छ, बाँकी काम पुरा गर्न बजेट अभाव नहोस् ।” ३ अर्ब ६० करोड बजेट आवश्यक पर्ने देखिएको छ ।
मेयर दाहालले महानगरभित्रका केही दीर्घकालिन महत्वका सडक पूर्वाधारमा राज्यको ध्यान पुग्नुपर्ने बताएकी छन् । नवलपरासी जोड्ने गरी गोलाघाट वा घोसरीमा बनाउने गरी छिटै प्रक्रिया थाल्नुपर्ने बताएकी छन् । उनले भरतपुर–मेघौली गोलाघाट सडकको बाँकी सडक स्तरोन्नती गरेर सहायक राजमार्गका रुपमा विकास गर्नुपर्ने बताइन् । मेयर दाहालले नारायणीमा सिग्नेचर ब्रीज निर्माण प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गरिन् ।
मेयर दाहालले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न संघीय सरकार तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराइन् । भरतपुर महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारीले यो वर्ष ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार महानगरले विगतमा आफ्नै स्रोतबाट ६ सय ५० किमि सडक कालोपत्रे गरिसकेको छ । उनले महानगरका मुख्य बजार क्षेत्रहरुमा ६ वटा ओभरहेड ब्रिज, ५ ठाउँमा ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्यकता रहेको सुनाए । भरतपुर मेट्रोसिटी भैसकेकाले सौन्दर्यीकरण सहितको पूर्वाधार विकासमा मन्त्रालयको सहयोग आवश्यक देखिएको बताए । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले उच्च प्राथमिकता दिएर भरतपुरको विकासमा लाग्ने बताए ।