भरतपुर । उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीलाई काम गर्न मौका दिइने बताएका छन् ।
भरतपुर महानगरमा निर्माणाधिन आँपटारी–बसपार्कचोकसम्मको वाईपास सडक, गोन्द्राङ–पुलचोकको ६ लेन सडकको स्थलगत निरीक्षण गर्दै उनले भने, “कारवाही ग¥यो रे बा भन्ने दिन आउन नपरोस्, गुणस्तरीय काम समयमै सम्पन्न हुनुपर्छ ।” उनले कारवाहीलाई भन्दा पनि कामलाई आँफुले प्राथमिकतामा राखेको बताए ।
निर्माण व्यवसायीलाई निर्देशन दिदै उनले भने, “राज्यको विकास निर्माणको कामलाई अवरुद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पु¥याउने कुनैपनि प्रवृत्तिलाई कुनै ढंगको छुट दिइदैन, सम्झौता हुन्न ।” उनले तोकिएको समयमा निर्माण पुरा नगरे कारवाही हुने बताए । उनले निर्माण सामाग्रीको अभावको बहाना देखाएर सडक निर्माणमा ढिलाई नगर्न निर्देशन दिए । “निर्माण सामाग्री अभावबारे प्रधानमन्त्रीले पनि चासो दिनुभएको छ, केही दिन यता आएको समस्या हो”, उनले भने, “गृहमन्त्रीले पनि दुई दिनभित्र समस्या हल गर्छु भन्नुभएको छ ।”
उनले राज्यको विकास निर्माणको महत्वपूर्ण काम आँफुले नेतृत्व लिएको मन्त्रालयले गरेकाले कुनैपनि ढिलासुस्ती, अनियमितता, भ्रष्ट्राचारमा छुट नदिइने बताए । कुल पूँजिगत खर्चको एक तिहाई बजेट हुने भएकाले मन्त्रालयले कामहरु प्रभावकारी रुपमा गराउन विज्ञहरुबाट सुझाव लिएर कार्ययोजना बनाउन लागिपरेको बताउनुभयो ।
भरतपुरको वाइपास सडक (४ दशलमव ४ किमि) २०७३ पुसमा सम्झौता भएर १५ महिनामा सक्नुपर्नेमा ६ वर्षहुदासमेत पुरा भएको छैन । यस्तै गोन्द्राङ–पुलचोक ६ लेनको सडक २०७७ माघदेखि काम सुरु भएको थियो । करिब ७ किमि सो सडक यही फागुन मसान्तसम्म पुरा गर्नुपर्ने जिम्मेवारी थियो ।
यस्तै २०७५ माघमा सम्झौता भएको १ सय १३ किमि लामो दुरीको बुटबल–नारायणगढ सडक यही साउनमा पुरा हुनुपर्ने थियो । मन्त्री श्रेष्ठले भने, “जिम्मेवारी लिएको काम जसरी पुरा हुनैपर्छ, काम गर्न सक्दिन भन्ने सुन्न चाहन्न ।”