भरतपुर । विहान ११ बजेको आसपासमा कपुरबोटको कार्यालयमा हाजिर भएँ । समाचार कक्षमा बसेर अनलाईन पोर्टल हेर्न थालेँ । कुर्चीमा बसेको ५ मिनेटमा अनलाईन खवरमा समाचार आयो, यती एयरको विमान दुर्घटना, थप विवरण आउन बाँकी ।
सहकर्मी विप्लवसँगै हुनुहुन्थो । छलफल भयो । एकैछिनमा कपुरबोटका अध्यक्ष सन्तोष देउजा दाईको फोन आयो, पोखरा जानुपर्ने भयो, तयार भएर बसौं । त्यसपछि को को जाने पुर्ण जानकारी आएन । माघेँ संक्रान्तीको समय त्यसमा पनि भरतपुरमा अर्को कार्यक्रम तय गरिएकाले सबै जान सम्भव भएन ।
व्यवस्थापक राजकुमार देउजा १२ बजे कार्यालय आईपुग्नुभयो । म र उहाँ मोटरसाईकलमा जाने भईयो । रिर्पोटिङका लागि आवश्यक सामान तयारी गर्दै थियौं । मैले समाचार मार्फत ताजा विवरण हेरिरहेको थिए । फेसबुकमा देखिन थाल्यो, त्रिभुवन दाईका फोटा….. यस्तो नभईदिएको भए हुने थियो, साचो नहोस्, त्रिभुवन तिमिले हामीलाई छाडेर नजाउ यस्तै, यस्तै । अनि ठ्याक्कै याद आयो दाईसँग अन्तिम पटक मैले गरेको च्याट …..
बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसअघि प्रधानमन्त्री भएकै समयमा सिंहदरबार गएका थियौं । पत्रकार राजेन्द्र आचार्य पनि सँगै हुनुहुन्थ्यो । गाउँको विकासका बारेमा डेलिकेशन थियो हाम्रो । उहाँ अर्थमन्त्रालयमा प्रेस संयोजक हुनुन्थ्यो । प्रधानमन्त्री कार्यालयबाट निस्कने बेला राजेन्द्र दाईले त्रिभुवन पौडेल दाईलाई भेट्न जाउँ भन्नुभयो । हामी गयौं तर दाईसँग भेट भएन यसै फर्कियौं । त्यसै प्रसंगमा फेसबुकमा च्याट भएको थियो । भेट त बेला बेलामा भईरहेको थियो ।
चितवनमा प्रेस सेन्टर नेपालको केन्द्रिय महाधिवेशन भएको थियो । त्यसै अधिवेशनबाट उहाँ केन्द्रिय उपाध्यक्ष हुनुभयो । नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य । उहाँ पत्रकारको नेता, हाम्रो नेता । आज हाम्रो शालिन नेताको अन्त्यष्टि गरिदैं छ । चितवनमा स्वागत गर्ने मेरो योजना अधुरै रहृयो … अलविदा त्रिभुवन दाई