काठ्माण्डौ । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन् । सांसद पद खारेजीको माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा पेस भएको रिटमा जवाफ मागिएको थियो ।
माघ ११ गते हुने अन्तिम सुनवाईका लागि गृहमन्त्री लामिछानेले लिखित जवाफ दिएका हुन् । उनी चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हुन् । उनले जवाफमा लेखेका छन्, ‘म जन्मसिद्ध नेपाली नागरिक हुँ। अमेरिकी नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिक नै भएको छु ।’
उनको दाबी छ, ‘नागरिकता ऐन, २०६३ को दफा ११ ले कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ भनेको छ।’
उनले नेपाली नागरिक भएकाले रिटको औचित्य नभएको जीकिर गरेका छन् । उनले पार्टी सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता बढेकाले नागरिकताको विषय उठाइएको दाबी गरे । अमेरिकी स्थायी बसोबास कार्ड छोडेको जानकारी अध्यागमनमा समेत बुझाएको र गृह मन्त्रालयमा समेत त्यसको जानकारी पुगेकाले अब नागरिकता दोहोरो भएको तर्क अनावश्यक भएको तर्क छ । सर्वोच्चको संवैधानिक इजलासले माघ ११ गतेदेखि अन्तिम सुनुवाइ गरेमा उनको मुद्दा सोही दिन टुङ्गो लाग्नेछ ।