काठमाडौं । मन्त्रीमण्डलमा कुन दलले कति सिट पाउने लगभग समझदारी बनेको छ । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाड लगभग टुंगिएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झण्डै ५ घण्टा छलफल चलेको थियो । लन्च मिटिङका रुपमा हेरिएको सो छलफलले मन्त्रालय कुन दलले कुन लिने भन्नेबारे निष्र्कष निकालेको स्रोतको दाबी छ । बालकोट छलफल पछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले आजै पूर्णता पाउने बताएका थिए । उनले विश्वासको मत दिने पार्टीका नेताहरुसँग पनि छलफल भैरहेको बताए ।
सत्तारुढ दलहरुले ८ सांसद बराबर १ मन्त्री दिने गरी भागबण्डा मिलाएका छन् । एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने चर्चा छ । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहेका छन् । यस्तै पुस ११ मा शपथ लिएका ३ मन्त्रीहरु विना विभागिय छन् । माओवादीले ४ मन्त्री र १ राज्यमन्त्री पाउने चर्चा छ । माओवादीबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठले शपथ लिइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री पाउने चर्चा छ ।
सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउने चर्चा भएका छन् । युवा तथा खेलकुद मन्त्रालय माओवादीले पाउनुपर्ने अडान लिएको छ । राप्रपाले २ मन्त्रालय मागेको छ । उपप्रधान तथा उर्जा मन्त्रालय सहित २ मन्त्रालयको जिम्मेवारी लिन लागिपरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले पनि २ मन्त्रालय दाबी गरेको छ । उसले सहरी सहित २ मन्त्रालय खोजेको छ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एक एक मन्त्रालय दिने तयारी छ । लोसपा पनि सरकारमा जान लागेको हो ।