काठमाडौं । सभामुखको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । संघीय संसद सचिवालयले सभामुखको निर्वाचनर्को तयारीलाई तीव्र बनाएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुदैछ ।
सभामुखका लागि बुधबार मनोनयन दर्ता हुनेछ । बिहीबार विहान ११ बजे सभामुखका लागि निर्वाचन हुनेछ । कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनेछन् । एकजनाको मात्रै मनोनयन परेमाजेष्ठ सदस्य पशुपतिशमशेर जबराले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
एक भन्दा बढी उम्मेदवार भएमा बहुमत ल्याउनेलाई निर्वाचित हुनेछन् । दर्ता क्रमानुसार प्रस्तावकले सभामुखको प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । प्रतिनिधिसभाको कुल सदस्य संख्याको जसले बहुमत ल्याउँछ उनी नै सभामुख निर्वाचित हुनेछन् । ५ माघमा सभामुख चयन भएपछि उपसभामुख ७ माघमा चयन गर्ने तयारी छ ।