काठमाडौं । जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच एकीकरण गर्ने तयारी भएको छ । मंसिर ४ को निर्वाचनपछि यी दुई दलबीच एकीकरण गर्ने प्रयास भैरहेका छन् ।दुवै पार्टीले एकीकरण गर्नका लागि वार्ता समितिहरु गठन गरेका छन् ।
एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएका थिए । वार्ता समितिले गत शुक्रबार सिंहदरबारमा ४ घण्टाजति छलफल गरिसकेका छन् । एकीकरणको रणनीति बनाउन समितिहरु सक्रिय बनेका छन् । मंसिर ४ को निर्वाचनमा जसपाले १२ र एकीकृत समाजवादीले १० सिट ल्याएको छ । २०६३ को मधेस आन्दोलनबाट राजनीतिमा स्थापित भएको उपेन्द्र यादवले आफू नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमलाई विभिन्न पार्टीसँग एकता गर्दै जाँदा अहिलेको जसपा गठन भएको हो।
एकीकृत समाजवादी डेढ वर्षअघि एमाले विभाजनबाट गठन भएको हो। अशोक राई र राजेन्द्र श्रेष्ठ सहितका तत्कालीन एमाले नेताहरु अहिले जसपामा छन्। एकीकृत समाजवादीका महासचिव तथा वार्ता समितिका संयोजक बेदुराम भुसालले जसपाको वार्ता समितिसँग पहिलो पटक पार्टी एकीकरणको विषयमा छलफल भएको बताए।