काठमाडौं । विमान दुर्घटनामा परि पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल प्रेस सेन्टरको बैठकको मिति तय गर्ने गरि काठ्माण्डौ पुगेका थिए । पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनी कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएका थिए । यती एयरको विमान दुर्घटनामा परि उनले ज्यान गुमाएका हुन् । पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत थिए ।
पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
पत्रकार पौडेल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी महासंघको गण्डकी प्रदेश समिति अध्यक्ष, पत्रकार महासंघ कास्कीको उपाध्यक्ष, दुई पटक सचिव भएका थिए । उनले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा समेत काम गरेका थिए ।