काठमाडौं । सरकारले पूर्णता पाउन ढिलाई भएको छ । एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तारमा ढिलाई भैरहेको देखिन्छ ।
प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन पुरा भैसकेको छ । तर मन्त्रीमण्डल विस्तारमा ढिलाई भैरहेको छ । मन्त्रालयको जिम्मेवारी समेत नपाउँदा मन्त्रीहरु सिंहदरबार जानु र फर्किनुमात्रै दैनिकी पनि रहेको छ । चार मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
एमालेका ३ र जनमत पार्टीका १ मन्त्री मन्त्रालयविहिन बनेका छन् । एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई र जनमत पार्टीका अब्दुल खानलाई पछि कार्यभार तोकिने गरि मन्त्री बनाइएको थियो । तर, जिम्मेवारी अहिलेसम्म दिइएको छैन । ३ जना उपप्रधानमन्त्रीले मात्रै जिम्मेवारी पाएका छन् । अर्थमन्त्रीमा विष्णु पौडेल, भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र गृह मन्त्रीमा रवि लामिछाने छन् ।
स्रोतका अनुसार एमालेले ९, माओवादीले ५, रास्वपाले ३, राप्रपाले ३, जसपाले ३ मन्त्रालय पाउनुपर्ने अडानमा छन् । विश्वासको मत दिएका एकीकृत समाजवादीसँग प्रधानमन्त्री प्रचण्ड सकारात्मक बनेपछि सरकारभित्र सामान्य खटपट सुरु भएको छ । ओलीले माधव नेपाललाईसँगै लैजान नहुने भन्दै प्रचण्डलाई भन्दै आइरहेका छन् । प्रचण्ड–ओलीसँग छलफल पटक पटक भएपनि मन्त्रीपरिषद् विस्तारमा समझदारी बन्न सकेको छैन ।
प्रधानमन्त्री दाहालले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा कांग्रेसले समर्थनमा भोट हालेपछि आफ्नोे जिम्मेवारी हुने भन्दै विश्वासको मत दिने दलहरुप्रति उनी लचिलो बन्ने संकेत दिएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका पदमा सबै दलको सहभागिता भएको हेर्न प्रचण्ड आतुर छन् । आज बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउनसक्ने आँकलन भैरहेका छन् ।