नारायणगढ । नेपाली युवा उद्यमी मञ्च चितवनले चितवन महोत्सव परिसमा आयोजना गरेको मेड इन नेपाल एक्स्पो २०७९ मा युवा उद्यमीहरु बीच दैनिक अन्तरक्रिया हुँदै आएको छ । शनिबार भर्खर सुरु भएका व्यवसाय (स्टार्टअप बिजनेश)का चुनौतीको विषयमा छलफल गरिएको मञ्चका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए । ‘एक्स्पोमा नव उद्यमीका अनुभव सुन्ने, उनीहरुलाई परेका समस्या बुझ्ने र समाधानको उपाय खोज्ने काम पनि भइरहेको छ’, उनले भने ।
शनिबार छलफल कार्यक्रममा सहभागी मेरो किनमेलका संस्थापक सन्तोष कँडेलले नवउद्यमीले बैंकबाट आशा गरेजति सहयोग पाउन नसकेको बताए । स्टार्टअप बिजनेशको राम्रो योजना भएको व्यक्तिलाई आर्थिक सहयोगको खाँचो रहने भन्दै उनले त्यस्तो व्यवसाय सुरुवात गर्न र टिक्न गाह्रो हुने गरेको बताए । मेरो किनमेलमा अनलाइनमार्फत खानाको अर्डर गर्न सकिन्छ । यो व्यवसाय सुरु गर्दै गर्दा रेष्टुरेन्टको मालिकलाई नै मनाउन गाह्रो भएको उनले बताए । पछिल्लो समय अनलाइनमार्फत खानाको अर्डर गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ ।
डेलिज डेरीजका प्रबन्ध निर्देशक सिए सन्दिप पौडेलले नयाँ गर्ने सोँच बनाएका युवाले नयाँ क्षेत्रमा लगानी गरेपनि त्यसलाई निरन्तरता दिन नसकेको बताउँछन् । स्टार्टअप बिजनेशलाई सुविधा प्रदान गर्ने कुरामा नीतिगत तहमा नै काम हुन नसकेको उनले बताए । राष्ट्र बैंकले स्थापना गर्न लागेको स्टार्टअप फण्डले नवउद्यमीलाई सहयोग पुग्ने उनको विश्वास छ ।
हिमालयन बैंक नारायणगढ शाखाका शाखा प्रबन्धक कबिन्द्र राज पाण्डेले स्टार्टअप बिजनेशको प्रकृति हेरेर बैंकले पाँच करोड रुपैयाँसम्म ऋण उपलब्ध गराएको बताए । नेपालमा व्यवसाय गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने प्रवृत्ति पनि रहेको भन्दै उनले विदेशबाट सिकेर आएका सिपलाई स्वदेशमै प्रयोग गर्न सकिने बताए । ‘सिप सिक्न विदेश जाने कुरालाई राम्रो मान्नुपर्छ । तर विदेशबाट आएपछि आफुले सिकेको सिपलाई स्वदेशमै सहि प्रयोग गर्न जान्नुपर्छ’, उनले भने ।
बैंकहरु मर्ज हुँदै जाँदा त्यसले स्टार्टअप बिजेनशलाई पनि सहयोग पुग्ने उनको दाबी छ । कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष रितेश लामिछाने पनि सहभागी थिए । चितवन महोत्सव परिसरमा जारी एक्स्पोमा नेपाली उत्पादनको प्रदर्शनसँगै युवा उद्यमीले व्यहोर्नुपरेका समस्या र समाधानका उपायको खोजी गर्ने प्रयास गरिन्छ । मञ्चले आफ्नै उद्यम गर्न चाहने वा भर्खरै उद्यम गर्न थालेका उद्यमीलाई सहजिकरण गर्ने गरेको छ ।