भरतपुर । नारायणी नदी किनारमा मिनी पानी जहाज (क्रुजसिप) भोलि (आइतबार) देखि सञ्चालनमा आउने भएको छ । गत फागुनमै सञ्चालन गर्ने भनिएपनि क्रुजसिप यही माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको हो । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले १ गतेदेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए ।
“नियमित सञ्चालनमा आउँदैछौँ”, कपुरबोट मिडियासँग उनले भने, “२ वर्ष पहिलेनै सफल परीक्षण गरेका थियौँ, कोभिड र केही नीतिगत कारणले ढिलाई हुन पुग्यो ।” भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण कार्य थालिएको थियो । उनका अनुसार व्यवसायीक रुपमा सञ्चालन गर्न शुल्क समेत निर्धारण भैसकेको छ । भरतपुर–१६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ ।
ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । टिकटका लागिमात्र ७ सय रुपैयाँ तोकिएको छ । झण्डै १ घण्टा नारायणीमा सयर गर्न पाइने व्यवस्था मिलाइने बताए । ३ तला रहेको क्रुजसिप ३ तलोको रहेको छ । १ सय ८० जना यात्रु एकैसाथ चढ्न पाउनेछन् ।
हरेक यात्रुको १० लाख बराबरको विमा हुनेछ । क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ । राइनो क्रुजसिप नामको सो मिनी पानी जहाज नारायणी नदीको दृश्यावलोकन गर्दै स्वदेशी तथा विदेशी पर्यटक रमाउने उनको भनाई छ ।
कार्यकारी निर्देशक दिपक ढुंगेलले भोलि दिउसो १ बजे पत्रकार विशेष क्रुजिङ गरेर औपचारिक रुपमा सेवा सुरु गरिने जानकारी दिए । क्रुजसिप निर्माणमा १५ करोड बढी खर्च भएको छ । उनले ४० किलोमिटर सञ्चालनको अनुमति पाएपनि नदीले बाटो परिवर्तन गरेको र नदीको सतह वर्षभरीकै न्यूनतम सतहमा आएकाले तत्काल लामो दुरीमा सञ्चालन गर्न नसकिने बताए । रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने बताए । क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएका छन् ।