काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, सभामुख लगायतका पदका विषयमा कांग्रेससँग पनि छलफल हुने बताएका छन् । यसबारे छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको उनले बताए ।
शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गरे । उनले आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि छलफल गर्ने आफ्नो जिम्मेवारी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको समेत बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता दिने विषयमा कुरा भएको बताए । उनले भने, ‘ओलीजीसँग पनि सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ । हामीबीच केही समस्या छैन । केही दिनमै सरकारलाई पूर्णता दिन्छौँ।’(फोटो प्रधानमन्त्रीको सचिवालय)