काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘४४ औँ प्रधानमन्त्री हुँदा सदनमा असाधारण परिघटना पनि भयो अस्ति विश्वासको मत लिँदा ।झण्डै सिंगै सदन नै सहमत भयो। र, विश्वासको मत मलाई असाधारण उचाइको साथ मलाई प्राप्त भयो। करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’ उनले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै युवा जीवनको स्मृति भएको बताए । उनले बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकासलाई प्राथमिकता दिनेसमेत आश्वासन दिए । ‘म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ,’ उनले भने ।