नवलपरासी । पूर्वप्रधानमन्त्री स्व टंकप्रसाद आचार्यको घरलाई संग्रहालय बनाइने भएको छ । झण्डै १ सय वर्ष पुरानो घरलाई संग्रहालयको रुपमा विकास गरिने जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई संग्राहलय बनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा संग्राहलय बनाउन लागेको हो । आचार्य नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत थिए ।
“घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ । उस्तै नयाँ घर बनाएर सङ्ग्रहालयमा परिणत गर्ने योजना छ”, टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवं लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भने । जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए । स्व आचार्यको जन्म विसं १९६९ मा भएको थियो । उनको २०४५ सालमा निधन भएको थियो । आचार्य ०१२ सालमा मुलुकको प्रधानमन्त्री बनेका थिए ।