काठमाडौं । इरानले जासुसीको आरोपमा एक जना बेलायती नागरिकलाई मृत्युदण्ड दिइएको छ । बेलायत र इरानाको दोहोरो नागरिकता लिएका व्यक्तिलाई मृत्युदण्ड (फाँसी) दिइएको हो । उनी इरानकै पूर्व उपरक्षामन्त्री अलिरेजा अकबरी हुन् । बुधबार उनका परिवारले जेलमा पुगेर अन्तिम भेट गरेका थिए ।
बेलायतका लागि जासुसीको काम गरेको आरोप लागेको थियो । सन् २०१९ मा पक्राउ परेका उनलाई पछि जासुसीको आरोप लगाइएको थियो । बेलायतको गुप्तचर संस्था एमआई–६ का निम्ति जासुसी गरेको आरोप थियो । उनलाई शनिबार फाँसीको घोषणा गरेको हो । बेलायत सरकारले मृत्युदण्ड नदिन अनुरोध गर्दै रिहा गर्न आग्रह गरेको थियो ।
शुक्रबार बेलायती विदेश सचिव जेम्स क्लिभरलीले ट्विटरमा लेखेका छन्, ‘यो मानव जीवनको कदर नगर्ने बर्बर शासनको राजनीतिक रूपमा प्रेरित कदम हो ।’ बेलायती प्रधानमन्त्री ऋषि सुनकले फाँसी दिइएको घटनालाई घृर्णित भनि टिप्पणी गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘ब्रिटिश–इरानी नागरिक अलिरेजा अकबारीलाई दिइएको मृत्युदण्डबाट म स्तब्ध छु ।
यो आफ्नै जनताको मानव अधिकारको सम्मान नगर्ने क्रुर शासनद्वारा गरिएको घृणित र कायरतापूर्ण कार्य थियो । अलिरेजाका साथीहरू र परिवारलाई मेरो समवेदना ।’ इरानले अकबरीले जासुसीको काम गरेको स्वीकारेको भिडियो सार्वजनिक गरेको थियो । तर, उनलाई दबाबमा पारेर आरोप स्वीकार्न बाध्य बनाइएको भन्दै आलोचना भैरहेको छ । यसअघि बीबीसी पर्शियन सेवालाई दिएको अडियो सन्देशमा उनले आफूलाई आरोप स्वीकार गर्न यातना दिने गरेको बताएका थिए ।