भरतपुर । बागमती प्रदेशमा मन्त्रालय संख्या घटाइने भएको छ । निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेले १४ मन्त्रालय सहित १८ जना मन्त्री तथा राज्यमन्त्री बनाउँदा निकै आलोचित भएका थिए । नवनियुक्त वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभारलिदै मन्त्रालय घटाउने कार्यदलनै बनाएका थिए । वर्तमान मुख्यमन्त्रीले राज्यमन्त्री नबनाउने अडान लिदै आएका छन् । माघ १० भित्रै कार्यदलले प्रतिवेदन पेश गर्नेछ ।
मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिदै छन् । प्रदेशमा ११ वटमात्रै मन्त्रालय राख्ने रणनीति अनुसार सोही अनुसार भागबण्डाको तयारी हुदैछ । एमालेको संसदीय दलको पहिलो बैठकलेनै मन्त्रालय घटाउने निर्णय गरिसकेको छ । सरकारमा ५ दलको दाबी छ । स्रोतका अनुसार एमालेले सबैभन्दा धेरै मन्त्रालयमा दाबी गरेको छ । एमालेले ५, माओवादीले ४ मन्त्रालय दाबी गरेका छन् । यस्तै राप्रपाले २, एकीकृत समाजवादी २, हाम्रो नेपाली पार्टीले १ मन्त्रालय दाबी गरेका छन् ।
मन्त्रालय संख्यानै कम भएमा भागबण्डा गर्दा दाबी केही घट्न सक्नेछन् । दाबी अनुसार १ मन्त्रालय कम पाउने सम्भावना छ । एमालेले आर्थिक मामिला मन्त्रालय लिइसकेको छ । राप्रपाले भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । यही मन्त्रालय माओवादीले जसरी पनि लिने दाउमा छ ।
कुन मन्त्रालय मर्ज हुन्छन् भन्ने कार्यदलको प्रतिवेदन अनुसार हुनेभएकाले कुन मन्त्रालय कुन दललाई भन्ने टुंगो लागिसकेको छैन । बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालय बाँडफाड सहमति नजिक पुगिसकेको बताउँछन् । उनका अनुसार माघ ३ पछि प्रदेशको मन्त्रीमण्डल विस्तार हुनेछ । मुख्यमन्त्रप् जम्कट्टेल माओवादीबाट निर्वाचित सांसद हुन् । एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, राप्रपाबाट उद्वब थापा विना विभागीय मन्त्री बनेका छन् । राप्रपाका भुवन पाठक सभामुख बनेका छन् ।