भरतपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रामनगर–ठिमुरा–जुगेडी भतेरी खानेपानी आयोजनालाई पूर्णता दिएरै छाडिने दाबी गरेका छन् । भरतपुर–२९ स्थित मगर खहरे खोलाको मुहानमै स्थलगत अवलोकन गर्दै उनले भने, “जनतालाई पानी चाहियो, पानी खुवाउने भिजन हो, यो काम भएरै छाड्छ ।”
लामिछाने चितवन–२ बाट निर्वाचित भएलगत्तै मंसिर १० गते सो ठाउँमा पुगेर जनश्रमदानबाट बाढीले पुरिदिएको खानेपानी ट्यांकी सफाई गराएका थिए । “यो योजना अगाडी बढाउन सम्बन्धित निकायसँग पहिलो दिनबाटै समन्वय गरिरहेका छौँ”, उनले भने, “वडासँग पनि समन्वय छ, महानगरको पनि सहयोग छ, स्थानीयले छिटै पानी पाउनेछन् ।”
उनले पाइपलाइन विस्तारको शुभारम्भ समेत गरेका छन् । आज (शुक्रबार) नै ७ सय मिटर पाइप पु¥याइएको छ । स्थानीयले मुहान नजिकैको खेतबारीबाट स्थानीयले पाइपहरु ओसारपसारमा खटिएका थिए । खानेपानी बोर्डका प्राविधक सहायक रामप्रसाद दवाडीले १ महिनाभित्रै पानी रामनगर पु¥याइने बताए । “मुहानदेखि रामनगर करिब ७ किमिको दुरीमा छ, पाइपलाइन विस्तार सुरु भएको छ”, उनले भने, “भीर, पहिरोको बाटो हुदै जंगलमा पाइपलाइन लैजान केही गाह्रो छ, तर फागुन पहिलो हप्ताभित्रै पाइपलाइन विस्तार हुनेछ ।” उनका अनुसार मुहान र ट्यांकी संरक्षणका कामहरु पनि छिटै हुने बताए । “खानेपानी विभागले पनि सर्भे गरेको छ, असारतिर टेण्डर हुदैछ”, उनले भने, “पानी समस्या हल गर्न नारायणी पानी तानेर प्रशोधन गर्ने, भूमिगत पानी या मगर खहरे खोलाको पानी लैजाने भन्नेबारे विभागले पनि अध्ययन थालेको छ, सो योजना परे ठुलो लगानी सरकारबाट पनि हुनेछ ।”
कविलासको पहाडमा रहेको मुहानबाट २०३३ सालमै पाइपलाइन विछ्याएर रामनगर, दियालो बंगला, नारायगढ क्षेत्रसम्म पानी वितरण गरिएको थियो । मगर खहरेको पानी रामनगर र आँपटारीको बीच भागमा रहेको ट्यांकीमा जम्मा हुने गर्दथ्यो । २०४८ सालमा जापान सहयोगी निकाय जाइका मार्फत रिजर्भ ट्यांकी नजिकै ट्रिटमेण्ट प्लाण्ट बनाएर २०५० सालमा सरकारलाई हस्तान्तरण भएको थियो । तर, २०६१ भदौको भीषण बाढीले ट्यांकी तथा पाइपलाइनमा क्षती पु¥याएपछि प्रयोगविहिन भएर थन्किएको थियो । २०६१ सालयता रामनगर सार्वजनिक धाराहरु बन्द थिए ।
तत्कालिन भरतपुर नगरपालिका, सामुदायिक वन र लुमन्ती संस्थाको सहयोगमा २०६८ देखि टोड्के खोलाको मुहानको पानी रामनगरबासीले प्रयोग गर्दै आइरहेका छन् । तर, पानी दैनिक २ घण्टासमेत नआउने समस्या छ । भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले पानीको मुहान संरक्षणको काम छिटै हुने बताए । मुहान नजिकै स्थानीयले सुंगुरपालन गरेकाले उनीहरुलाई विकल्प दिएर अन्यत्र सार्ने प्रयास भएको बताए । “पानी प्रदुषित हुन नदिन सतर्क छौँ, मुहानमा फोहर हुन दिने छैनौँ”, उनले भने, “१८ वर्षदेखि अलपत्र बनेको खानेपानी योजना अब सुरु हुने आशमा छौँ ।”
रामनगर–ठिमुरा–देवघाट–जुगेडाी भतेरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीराम श्रेष्ठले स्थानीयले रिजर्भ ट्यांकी सरसफाईदेखि पाइपलाइन विस्तार गर्न ४३ दिनदेखि श्रमदानमा जुटेको बताए । “स्वतस्फूर्तमा स्थानीयले पाइपलाइनका लागि खाडल खनेका छन्, आर्थिक सहयोग गरेका छन्”, उनले भने, “दाताकै सहयोगमा श्रमदानमा खटेकाहरुलाई खाजा खुवाउनेसम्मका कामहरु गर्दै आएका छौँ, छिटै सरकारले प्रयाप्त बजेट छुट्याउने अपेक्षा लिएका छौँ ।”
उनले भरतपुर महानगरले ढ्यांग्रे खोलामा डिप बोरिङबाट समेत खानेपानीका लागि काम गरेकोमा खुशी व्यक्त गरे । “अहिले टोड्के खोलाको पानी प्रयाप्त छैन, मगर खहरे खोलाकै पानी लैजानै पर्ने अवस्था छ”, उनले भने, “खडेरीमा पानीको समस्या सधै झेलिरहेका छौँ, अब समस्या हल हुने आशा बढेको छ ।”
महानगरले दीर्घकालिन सोच अगाडी बढिरहेको छ । टोड्के खोलाको पानी दैनिक २ घण्टासम्म पानी समेत नआउने समस्या छ । रामनगरतिर जंगलको बाटो छ, खडेरीमा पानी समस्या छ । धेरै ठुलो भण्डारण छैन । विद्युत नहुदा पानी तान्न समस्या । हामी आशावादी छौँ । मगर खहरे खोलाको पानीबाट रामनगर, ठिमुरा र देवघाट, भतेरी, जुगेडीका करिब ४ हजार घरधुरी लाभान्वित हुने अनुमान छ ।