काठमाडौं । केपी ओलीको चर्को आलोचना गर्दै घनश्याम भुषाल नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका उनी आज समाजवादीमा प्रवेश गरेका हुन् । उनले सो पार्टीको सदस्यता लिएको स्वघोषणा गरेका छन् ।
भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने बताए । उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए ।
भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको बताए ।
भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनीत हुने र केही समयपछि महासचिव बन्ने समझदारी बनेको नेकपा एसका नेताहरूले बताएका छन् । भुसालले नेकपा एसको महासचिवको भूमिकामा रहेर वृहत वाम एकता हुँदै साविक नेकपाको अवस्थामा कम्युनिस्ट पार्टीहरूलाई फर्काउन पहल गर्ने बताएका छन् ।