काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तारको तयारी थालेका छन् । उनले सत्तासाझेदार दलहरुसँग छलफल गरिरहेका छन् । भागबण्डा अझै टुग्गिएको छैन । यता नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ ।
माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् ।
तर, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाव दिएका छन् । उनले मन्हिन्द्रको ठाउँमा माधवलाई मन्त्री बनाउन दबाबव दिइरहेको ती नेताको दावी छ । महिन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् ।
माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए । यादवलाई मन्त्री बनाउन नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दबाव दिइरहेका छन् ।