जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएका छन् ।बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।उनले भोजपुरी भाषामा शपथ लिएका छन् ।मुख्यमन्त्रीसँगै आज तीन मन्त्रीले पनि शपथ लिएका छन् ।
नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिएका छन् ।तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।शपथ ग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय संसदीय दलका नेता रामसहाय प्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए । माओवादी केन्द्र भने तत्काल सरकारमा गएन ।
यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ ।आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।