काठमाडौँ । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अबको केहि वेरमा बैठक तय भएको बताईएको छ । आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।
सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको बुझिएको छ । त्यो सहमति अनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ ।
राप्रपाले ग¥यो उपप्रधानसहित ४ मन्त्रालयमा दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ। एक÷दुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ।
यसअघि एमालेले उपप्रधानसहित चार मन्त्रीको शपथ गराएको छ भने माओवादीबाट प्रधानमन्त्री र एक उपप्रधानमन्त्री, रास्वपाले उपप्रधानमन्त्री र जनमतले एक मन्त्रीको शपथ गराइसकेको छ । उपप्रधानमन्त्रीहरूको मन्त्रालय तोकिए पनि शपथ लिएका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन । बाँकी १७ वटा मन्त्रालय भागबन्डा गर्नुपर्ने छ । अहिलेसम्म एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने सहमति छ ।
गत पुस ११ गते प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिमण्डललाई पूर्णता दिने सत्ता साझेदार दलहरुबीच सहमति भएको थियो । सोही सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन् ।