विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।उनले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।
अहिले प्रदेश १ मा एमाले, राप्रपा, जसपा सम्मिलित ४ सदस्यीय मन्त्रिमण्डल छ । माओवादीले सुरूमा कम्तीमा तीनवटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री कार्कीले भने भौतिक पूर्वाधार विकास तथा योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरुले केहीबेरमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।
मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ ।