चितवन । पवित्र धार्मिक स्थल देवघाटमा प्रत्येक वर्ष लाग्ने माघे संक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर संक्रान्ति मेला शुभारम्भ हुन्छ । मकर मेलामा देवघाटमा स्नान गरे पुण्य प्राप्ति हुने विश्वासले देवघाटमा नुहाउन हजारौं भक्तजनहरु आउने गर्दछन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले यस वर्ष पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा अनुसार व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारणले भक्तजनहरुलाई दर्शन गर्न नआउन भनिएको थियो । लगातार दुई वर्ष भक्तजनहरु देवघाटमा स्नान गर्न नआएका कारण यसपटक बढी भिड लाग्ने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ ।
समितिले १५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको छ । चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम सशस्त्र प्रहरीमार्फत गरिएको छ ।
स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । बिजुली बत्तीको व्यवस्था गर्न चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई जिम्मा दिइएको छ । खानेपानी, यातायात, पार्किङ, शौचालय लगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् ।
सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवत–जावतका लागि एकतर्फी बाटो तय गरिएको छ । पुल बनाउनका लागि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने छ ।