भरतपुर । माडीका दलीय प्रतिनिधिहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई माडीको विकासबारे ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा माडीका मेयर ताराकुमारी काजि महतोको नेतृत्वले माडीको विकासबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मेयर महतोले माडी नगरपालिकाले सञ्चालन गरेको ढुंगा बालुवा प्रशोधन केन्द्र सञ्चालनबारे आग्रह गरिएको बताइन् ।
“गृहमन्त्रीले अवैध, दर्ता, नविकरण नभएका क्रसर उद्योग बन्द गर्न आदेश दिएपछि माडीको प्रशोधन केन्द्रको काम पनि विगत ४ देखि रोकिएको थियो”, कपुरबोट मिडियासँग उनले भनिन्, “नगरपालिकाकै विकास निर्माणमा प्रयोग गर्ने गरी नगरपालिकाले सञ्चालन गरेको थियो प्रशोधन केन्द्र सुचारु गर्न गृहमन्त्री ज्यूले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिनुभएको छ ।” नगरपालिकाले विगत ३ वर्षदेखि माडी–५ मझुवामा गिटी, बालुवा वास गर्ने गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको थियो ।
नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई राजश्व तिरेर प्रशोधन केन्द्र सञ्चालन खर्च तथा आम्दानी आँफैले गर्दै आइरहेको थियो । “नगरपालिकाले ढुंगा, गिटी, बालुवा बेचविखन नभई आँफ्नै योजनामा प्रयोग गर्दै आइरहेको थियो”, उनले भनिन्, “काम रोकिदा विकास निर्माण कार्यमै असर परेपछि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हौँ ।”
बन्द रहेको प्रशोधन केन्द्रमा आइतबारदेखि पुनः विद्युत जडान हुने उनले बताइन् । गृहमन्त्रीमार्फत निकुञ्जले लिने राजश्व समेत कम गर्न नियम संसोधनका लागि समेत अनुरोध गरिएको बताइन् । “माडीमा विकास निर्माणले गती पाउनुपर्छ भन्नेमा गृहमन्त्री सकारात्मक हुनुहुन्छ”, मेयर महतोले भनिन्, “विकास निर्माणमा आइपर्ने समस्या समाधान गर्न उहाँले तत्परता देखाउनुभएको छ ।” गृहमन्त्रीसँगको भेटमा मेयर दलीय प्रतिनिधिहरु रेशमलाल आचार्य, ऋषि काफ्ले, शोभाखर चापागाईं, वीरेन्द्र भण्डारी, रामबन्धु पोखरेल, पुरन महतो लगायतको सहभागिता रहेको थियो ।