नारायणगढ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । १४औँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् ।
देशका युवाहरु यहि रहनुपर्छ भनेर सरकारले न्युनतम साझा कार्यक्रममा स्टार्ट अपहरुका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ’, उनले भने, ‘देशमा उद्योग खोल्न सक्यो भने र नवउद्यमीले केहि अनुसन्धान गर्न सक्यो भने मात्र मुलुकको उन्नती हुन्छ । त्यसको लागि सरकारले लिपिबद्ध गरेको छ ।’
‘सरकारले नेपालमै बनेका वस्तुहरुको लागि विशेष व्यवस्था गरोस् भनेर हामीले पहल गरिरहेका छौँ । मैले भनेको छु, आफ्नै देश स्वावलम्बन हुनुपर्छ, यहीको उत्पादन प्रयोग गर्नुपर्छ । मैले आफुले नेपालमै बनेको लुगा लगाउने जानकारी गराएकै छु’, आफुले लगाएका कपडा देखाउँदै उनले भने, ‘यी लुगा नेपाली उत्पादन नै हुन् ।’ नयाँ उत्पादनका विषयमा छलफल गर्न युवा उद्यमीहरुलाई आग्रह गर्दै उनले त्यसमा काम गर्न गृहमन्त्रालयको ढोका सदैव खुला रहने बताए ।
प्रविधिको अनुसन्धान गर्न गृहमन्त्रालयले उद्यमीलाई सँधै सहयोग गर्ने उनले बताए । सिंहदरबारको ढोका आम नागरिकको लागि पनि चाँडै खुल्ने उनले आश्वासन दिए । ‘काम परेर आएको मान्छेलाई सिंहदरबारभित्र चिनेको मान्छे हुनु पर्दैन । नेपाली नागरिकको लागि त्यो ढोका खुल्छ । चाँडै नै सिंहदरबारको ढोका मान्छे चिन्नु नपर्नेगरी खुल्ने जानकारी गराउँछु’, उनले भने ।