काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा लामिछानेको निवेदनमाथिको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको हो ।
सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीपले उच्च अदालत गुहारेका हुन् ।यसअघि ३ पटक पेशी चढेर पनि सुनुवाइ भएन । बिहीबार लामिछानेको मुद्दामा अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन् ।
गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले दुवै पक्षको बहसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । यसअघि पुस १२ गते बलात्कार आरोपित पूर्वकप्तान लामिछानेबाट पीडित किशोरीको जन्मदर्ता प्रमाणपत्र झिकाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आदेश दिएको थियो ।नाबालिगलाई बलात्कार गरेको आरोपमा गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।