भरतपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योगीका समस्या समाधान गर्न लागिपर्ने बताएका छन् । चितवन उद्योग संघले ‘उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा’ विषयमा आयोजित कार्यक्रममा उनले उद्योगीका समस्याहरु हल गर्ने बताए ।
चितवन उद्योग संघले अघि सारेका परियोजनाहरु निकै महत्वपूर्ण रहेको बताए । उनले कालिका नगरपालिकामा डिपिआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरुले अगाडि देखिनै चासोका साथ हेरेको बताए । “शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेका छौँ, यो काम हुनुपर्छ”, उनले भने, “मेरै कार्यकालमा यसको सञ्चालनको लागि पूर्णरुपमा लाग्छु ।” उनले औद्योगिक पाठशालाले पक्कै पनि औद्योगिक प्रवद्र्धनमा ठूलो टेवा पुग्ने हुँदा सो परियोजनालाई अगाडी बढाउनुपर्ने बताए ।
गृहमन्त्री लामिछानेले चितवनका जनताले दिएको मतको कदर इमान्दार भएर काम गर्ने बताए । चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा औद्योगिक पाठशाला सञ्चालन विभागका संयोजक युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानका लागि सुझावहरु सहितका विषयमा प्रस्तुतिकरण राखेका थिए ।
संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा तयार पारेको सञ्चालन प्रस्ताव पत्र, चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले कंक्रिट मिक्स्चर मेशिन उत्पादक उद्योगीहरुले झेल्नु परेका विविध समस्याहरुको समाविष्ट गरी तयार पारिएको सुझाव पत्र गृहमन्त्री रवि लामिछानेलाई पेश गरिएको थियो ।