विराटनगर । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुको रहस्य नेता शेखर कोइरालाले खुलाएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हेरेर मत दिएको बताएका हुन् ।
‘म सभामुख उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं’ उनले भने, ‘‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’
नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए । ‘हामीले आफ्नो उम्मेदवार दिंदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने । आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताए ।