भरतपुर । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अपराध ढाकछोप गर्न खोज्ने जोकोहीलाई निर्मम कारवाही गरिने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले राजनीतिक प्रभावमा नपरी जुनसुकै अपराधको अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
“उच्च मनोबलका साथ काम गर्नुस्, कुनैपनि राजनीतिक दलको प्रभावमा नपर्नु”, उनले भने, “अपराधसँगको छानविनका विषयमा कसैले प्रभाप पार्न खोज्नेलाई निर्मम कारवाही हुन्छ ।” उनले आँफुले कुनैपनि नराम्रो काम नगर्ने जीकिर गरेका छन् । “राम्रो काम कति गर्न सक्छु भन्न सक्दिन, तर म बाट एउटा पनि नराम्रो काम हुदैन”, उनले भने, “जनतासँगै घुलमिल भएरै काम गर्नेछु ।” उनले आँफ्नो लागि कुनै विशेष सुरक्षा व्यवस्था नगर्न आग्रह पनि गरेका छन् । उनले भीभीआइपी सेवा सुविधा नचाहिने बताए ।
“संस्थाको प्रोटोकललाई चूनौती दिन चाहन्न, तर मेरै लागि कुनै विशेष काम गर्नुपर्दैन”, उनले भने, “गृहमन्त्रीको सुरक्षाको काम गर्न खोज्दा मैले नकार्न मिल्दैन, तर म खुल्ला रुपमा हिड्न चाहन्छु ।” उनले भ्रष्ट्राचारका फाइलहरु बारे अध्ययन, अनुसन्धान गर्ने वाचा नभुलेको बताए ।
उनले हत्यो अभियोग लागेकी एमालेकी सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरि छानविन गर्न निर्देशन दिएको बताए । “गृहमन्त्रीले खल्तीमा हतकडी बोकेरै हिड्दैन, तर जानकारी हुनासाथ पक्राउ गर्न भनेको छु”, उनले भने, “म कुनै स्टण्डबाजी गर्न खोजेको होइन, काम गरेर देखाउनेछु ।” गृहमन्त्री लामिछानेले चुनावका बेला जनतासँग गरेका वाचाहरुलाई कहिल्यै नभुल्ने दोहो¥याए ।
उनले रामनगर खानेपानी आयोजनालाई छिटै पूर्णता दिइने बताए । उनले हालसम्म ७ किमि खाडल खन्ने काम सकिसकेको बताउँदै छिटै पाइपलाइन विस्तारको काम हुने बताए । लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
रविले सुनाए कामको प्रगति विवरण्
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गृहमन्त्री लामिछानेले आँफु काठ्माण्डौ बसेपनि निर्वाचन क्षेत्रमा गर्ने कामहरु नरोकिएको दाबी गरेका छन् । उनले आँफुले गरेका कामको फेहरिस्त समेत सार्वजनिक गरे । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनि लिमिटेडसँग रासायनिक मलको समस्याबारे जानकारी लिएर मल अभाव हटाउन निर्देशन दिएको सम्झिए ।
प्रधानमन्त्री प्रचण्डले छिटै मलको अभाव हटाउन सरकार लागिपर्ने भनि दिएको प्रतिवद्धताले चितवनमा पनि मल अभावको समस्या हल हुने दाबी गरे । उनले इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको विद्युत नपुगेका क्षेत्रमा विद्युतीकरण गर्न प्राधिकरणका कुलमान घिसिङसँग कुराकानी भैसकेको बताए । उनका अनुसार इच्छाकामना–७ मा विद्युतीकरण गर्न टेण्डर भैसकेको बताए । अन्य क्षेत्रमा १२ करोड बराबरको लागत स्टिमेट तयार गरि टेण्डर केही दिनमा हुने बताए ।
इच्छाकामनाका धेरै क्षेत्रमा नेटवर्क समसइा समाधान गर्न टेलिफोनको टावर विस्तारका लागि टेलिकमसँग काम भैरहेको बताए । उनले रामनगर, ठिमुरा, जुगेडीमा पानीको समस्या समाधान गर्ने काम अन्तिम चरणमा पुगेको बताए । जुगेडी खहरे खोलाबाट पानी ल्याउन गरिएको श्रमदानको उपलब्धि छिटै नतिजामा रुपान्तरण हुने बताए ।
उनले पाइपालाइन विस्तारका लागि ७ किलोमिटर खाडल खन्ने काम सकिएको बताउँदै अब ३ सय मिटरमात्रै खाडल खन्न बाँकी रहेको सुनाए । उनले शुक्रबारनै पाइपलाइन विस्तार सुरु हुने बताए । उनले ठिमुरा–देवघाट जोड्ने पुल निर्माणमा खबरदारी गरिएको सम्झिए । उनले असारभित्रै काम पुरा गर्न दिइएको निर्देशनपछि कामहरु धमाधम भैरहेको बताए । उनले भरतपुर–पदमपुर जोड्ने सडक निर्माण पनि छिटै काम हुने अवस्थामा पुगेको बताए ।
उनले कालिका–१० र इच्छाकामना–१ मा आवासिय विद्यालय निर्माण गर्ने प्रक्रिया सुरु भएको बताए । छिटै जग्गा एकिन गरी काम हुने चरणमा पुगेको बताए । चितवनमा अवैध रुपमा भित्रिने माछा आयात रोक्ने काम भएको बताए । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको कार्यालयमा आएका ३ सय बढी गुनासाहरु सम्बोधन भैसकेको बताए । अदालती प्रक्रियामा रहेका केही घरजग्गाका, मिटर व्याजीका समस्या बाहेक अधिकाँस गुनासोहरु सम्बोधन भएको बताए ।उनले ५ वर्षदेखि अलपत्र बनेको शहिदचोक–धमचोक–यज्ञपुरी चोक सडकको समेत निरीक्षण गरेका छन् । उनले १० गतेनै ठेकेदार पक्षलाई छिटो काम सक्न निर्देशन दिएपछि अहिले सडक कालोपत्रे भैसकेको छ ।