काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।
यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्ड छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको भागबन्डाबारे पनि कुराकानी भएको थियो ।