भरतपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज चितवन आउदै छन् । उनी आज झण्डै एक दर्जन कार्यक्रममा सहभागि बन्दैछन् । गृहमन्त्री बनेपछि पहिलो पटक चितवन आउन लागेका उनी पहिलो दिनमै उद्योगी, व्यवसायीलाई भेटघाटका लागि पहिलो प्राथमिकता दिएका छन् । महोत्सवका कार्यक्रम बाहेक उनी अधिकाँस सयम उद्योगी व्यवसायीलाईनै दिने गरि चितवनमा आउदैछन् ।
विहान १०ः३० बजे विमान मार्फत चितवन आइपुग्ने जनाइएको छ । चितवन आएलगत्तै उनी विहान ११ बजेदेखि झण्डै १ घण्टा चितवनका पोल्ट्रि व्यवसायीहरुसँग भरतपुर गार्डेन रिसोर्टमा छलफल गर्नेछन् । खैरहनी नगरपालिका ५ जबकौली गौचरनमा सुरु हुने खिचरा महोत्सवको उद्घाटन गर्न उनी दिउसो १ बजे पुग्ने कार्यतालिका छ । महोत्सव परिसरमा १ घण्टा अवलोकन गरेपछि उनी भरतपुरनै फर्किने छन् ।
दिउसो साढे २ बजे गृहमन्त्री चितवन उद्योग संघका पदाधिकारीसँगको छलफलमा रहनेछन् । दिउसो ३ः१५ बजे चितवन महोत्सव परिसरमा रहेको मेड इन नेपाल परिसरको अवलोकन गर्ने कार्यतालिका बनेको छ । पौने ४ बजे उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग छलफलमा बस्नेछन् ।
गृहमन्त्री लामिछाने आजदेखि क्याम्पाचौरमा सुरु हुन लागेको फुड फेष्टिबेलमा समेत सहभागि हुनेछन् । साँझ ६ बजे उनी सौराहाका पर्यटन व्यवसायीहरुसँग छलफलमा बस्नेछन् । गृहमन्त्री लामिछाने भोलि काठ्माण्डौ फर्किने छन् । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने जनताको सुख, दुःखमा सधै सँगै रहने प्रतिवद्धता गर्दै आएका थिए ।