काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सीमित भयो ।
विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई÷दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ र हरमीत सिंहले ३० रन बनाए । विराटनगरका नन्दन यादव र राज नन्नानले दुई÷दुई विकेट लिए ।
नेपाल क्रिकेट संघ (क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी प्रथियोगिताको विजेता बनेको लुम्बिनीले ५५ लाख प्राप्त गर्नेछ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो स्थानको जनकपुरले १० लाख र चौथो भएको काठमाडौंले ५ लाख प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख, उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार र उदयीमान खेलाडीले १ लाख ८० हजार पाउनेछन् ।