काठमाडौं । बागमती प्रदेशसभामा राप्रपाका भुवन पाठक र सुदूरपश्चिममा माओवादीबाट भीम भण्डारी सभामुख हुने भएका छन् ।बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए ।सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।
सुदूरपश्चिममा माओवादीबाट भीम भण्डारी सभामुख बन्ने
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् ।
नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।