भरतपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलि (बिहीबार) चितवन आउने भएका छन् । गृहमन्त्री लामिछाने खैरहनी नगरपालिका–५ जबकौली गौचरनमा सुरु हुने खिचरा महोत्सव उद्घाटन गर्न आउन लागेका हुन् । उनी दिउसो १ बजे महोत्सवस्थल परिसरमा पुग्नेछन् । गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार गृहमन्त्री चितवनमा २ दिन बस्ने कार्यतालिका रहेको जानकारी दिए ।
उनका अनुसार गृहमन्त्री लामिछानेले नारायणी नदी किनारमा जारी चितवन महोत्सव अन्र्तगतको मेड इन नेपाल परिसरको समेत अवलोकन गर्नेछन् । बिहीबार साँझ चितवन महोत्सव अन्र्तगत क्याम्पाचौरमा हुने फुडफेष्टिबलमा समेत सहभागि हुनेछन् । त्यसलगत्तै उनी आन्तरिक छलफलमा सहभागि हुनेछन् । भरतपुर–२९ स्थित मगर खोला खानेपानी आयोजनाको शुक्रबार विहान अवलोकन गर्ने सम्भावित कार्यतालिका रहेको छ ।
गृहमन्त्री लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै रामनगरबासीलाई शुद्ध पीउने पानी उपलब्ध गराउनै आँफै पानीको मुहान तथा जीर्ण ट्यांकी सरसफाई अभियानमा खटिएका थिए । मंसिर ४ को निर्वाचन पहिले असोज २३ मा उनले चितवनमै बसाई गर्ने गरी चुनावमा लड्न आएको अभिव्यक्ति दिएका थिए ।
राजनीतिक समिकरण फेरबदलपछि उनी गृहमन्त्रीका रुपमा काठ्माण्डौ केन्द्रीत हुन थालेका छन् । सरकारमा पुगेपछि लामिछाने राजधानी बाहिर पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि बन्न लागेका हुन् । उनले गृहमन्त्रालय मातहतका चितवन स्थित कार्यालयका प्रमुखहरुलाई समेत निर्देशन दिनेछन् ।