काठ्माण्डौ । चार वटा प्रदेशले आज (बुधबार) एकैसाथ मुख्यमन्त्री पाउने भएका छन् । मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउदैछन् । गठबन्धन दलहरुबीच आन्तरिक तयारी भैरहेको छ । मधेश प्रदेशमा जसपाका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने तयारी छ । दिउसो ४ बजेसम्म सरकार गठन गर्ने समय तोकिएको छ ।
यो प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व लिने समझदारी बनेको छ । सहमति अनुसार लुम्बिनीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेकै राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । लुम्बिनी र कर्णालीमा एमाले र माओवादी पाँच वर्षनै सरकार चलाउनेछन् । सुदूरपश्चिममा पहिलो चरणमा एमाले र त्यसपछि माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
दाबी पेश गर्न लुम्बिनीमा दिउसो ४ बजेसम्मको समय तोकिएको छ । कर्णालीमा दाबी पेश गर्न साँझ ५ बजेसम्मको अवधि तोकिएको छ । यसैगरी सुदूरपश्चिममा साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । तर, सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने देखिन्छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन सकस भैरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।