लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी भएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताए ।
‘शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको छ, बरालले भने, ‘समझदारी अनुसार सुरुको साढे २ वर्ष एमालेले र त्यसपछिको साढे २ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछन् यसै अनुसार अघि बढ्ने हो ।’
नेकपा एमाले संसदीय दलका नेता लिला गिरी निकटका एक नेताले पनि सरकारको नेतृत्व आलोपालो गर्ने केन्द्रमा सहमति भएको स्वीकार गरे ।लुम्बिनी सरकारको नेतृत्वमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको थियो । माओवादी केन्द्रले लुम्बिनीलाई ‘जनयुद्ध’को उद्गमस्थल र पार्टीको संगठन अन्य प्रदेशको तुलनामा राम्रो भएको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको थियो । लुम्बिनी प्रदेश सभामा एमालेका २९ जना र माओवादी केन्द्रका १० सांसद छन् ।