काठ्माण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक्लै भएपनि प्रतिपक्षमा बस्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गल्ती ढाकछोप गर्न सबैले सरकारलाई समर्थन गरेको जीकिर गरे । “सबै पार्टीहरु सत्तामा जाने अनौठो चलन देखियो”, उनले भने, “यहाँभन्दा हाइसञ्चो, आनन्द के हुनसक्छ । मैले बुझेको संसदमा बलियो शक्तिशाली प्रपितपक्ष भएन भने निरंकुश हुन्छ, जे मन लाग्यो त्यही गर्छन् ।” उनले देश झन झन संकटमा जाने खतरा बढेको टिप्पणी गरे ।
“यहाँ पूर्वप्रधानमन्त्रीको कुरा सुन्दा अचम्म लाग्यो, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ भन्ने कुरा पनि उठे”, उनले भने, “अझै पनि हेक्का भएन है ? विघटन गरेर चुनावमा जाँदा राज्यको कति खर्च भयो ?” उनले सबै ठुला दलहरु एकहुदा आँफुहरुलाई डर लागेको प्रसंग उठाए । उनले विगतका चुनावमा जादा झोलाको पैसाले पुग्नेमा अहिले बोराभरि पैसा बोकेर जानुपर्ने स्थिति आएको बताए ।
“बोरामा पैसा लगेर चुनाव जितेकाहरु सरकारमै बस्न खोजेका छन्, कमिकमजोरी ढाकछोप गर्न सामेल हुदैछन्”, उनले भने, “यहाँ भुगोलमाथिको कुरा भएन, एमसीसीका कुरा भएनन्”, उनले भने ।