काठ्माण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विपक्षी नरहेपनि सरकारका गलत कामको विरोध सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताएका छन् । उनले कांग्रेसले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नु स्वागतयोग्य भएको बताए । उनले माछा पार्ने सोचले समर्थन गरेको भए त्यहाँ माछा नपर्ने भन्दै व्यंग्य गरे ।
उनले प्रतिनिधिसभा बैठकमा बोल्दै भने, “यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।”
ओलीले कांग्रेसले सरकारलाई समर्थन गर्नुभित्र कुनै जालझेल भएको हो की भन्ने शंका पनि घुमाउरो पारामा गरे । उनले विपक्षी नेता शेरबहादुर देउवालाई संसद विघटनको गुरु आँफु नभएको जीकिर गरे । उनले भने,“गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ? यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?”